बर्दिया, पुष १३ गते
मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द न्यूनीकरण गर्दै सह–अस्तित्व कायम गर्ने उद्देश्यले मधुवन नगरपालिकामा जनप्रतिनिधिसँग संरक्षण संवाद कार्यक्रम सम्पन्न भएको छ ।
खाता सामुदायिक वन समन्वय समिति बर्दियाको आयोजनामा, मधुवन नगरपालिका तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम (ताल) बाँकेको आर्थिक सहयोग, डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा सहकार्यमा शनिबार मधुवन नगरपालिका–१ डल्लामा कार्यक्रम आयोजना गरिएको थियाे ।
कार्यक्रमबारे जानकारी दिँदै खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले सर्वसाधारणमा वन्यजन्तुको व्यवहार, वन्यजन्तुबाट जोगिने उपाय र राहतसम्बन्धी जानकारीको अभावका कारण मानव–वन्यजन्तु सह–अस्तित्व चुनौतीपूर्ण बनेको बताए । यही समस्या समाधानका लागि पालिका र साझेदार निकायसँग समन्वय गरी कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे ।
कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जिल्लामा भइरहेको मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न जनप्रतिनिधि, संरक्षणकर्मी, संरक्षणसँग सम्बन्धित संघ–संस्था तथा तीनै तहका सरकार एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोेगन बहादुर हमालले वन्यजन्तुबाट हुने क्षतिमा संरक्षणकर्मीलाई मात्र दोष दिनु उचित नहुने उल्लेख गर्दै, मानिसको व्यवहारमा परिवर्तन ल्याउन सके मानव–वन्यजन्तु सह–अस्तित्व सम्भव हुने बताए । उनले जिल्लामा अर्को गम्भीर समस्या र चुनौतीका रूपमा लागू औषध दुर्व्यसन देखिएको भन्दै यसको रोकथाम, नियन्त्रण, नीतिगत व्यवस्थापन र समाधानका क्षेत्रबारे पनि चर्चा गरे ।
कार्यक्रम सहजीकरण गर्दै डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, राहत वितरणसम्बन्धी नियम, द्वन्दका प्रकार, कारण, न्यूनीकरणका उपाय तथा सरकारका नीतिबारे जानकारी गराए ।
मानव–वन्यजन्तु सह–अस्तित्वका विषयमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले हात्ती र बाघको बानी–व्यहोरा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले हात्ती अत्यन्तै चनाखो र मानिसको व्यवहार छिटो बुझ्ने जनावर भएकाले हात्तीलाई नजिस्काउन र टाढै रहन आग्रह गरे । साथै बाघ लजालु स्वभावको हुने भएकाले जथाभावी वनजंगल प्रवेश नगर्न, आवश्यक परे समूह बनाएर मात्र प्रवेश गर्न र बाघले खतरा महसुस गरेमा मात्र आक्रमण गर्ने बताए ।
यस्तै मानव–वन्यजन्तु सह–अस्तित्वमा सुरक्षा र बीमाको भूमिकाबारे उज्यालो नेपालका रमेश थापाले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा मधुवन नगरपालिकाका नगर उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, प्रहरी उपरीक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यस किसिमका संरक्षण संवाद कार्यक्रमले जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय समुदायबीच सहकार्य मजबुत बनाउँदै मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण तथा दिगो सह–अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
