बर्दिया, पौष २२ गते

बर्दियाका आठ स्थानीय तहमा सञ्चालित स्वास्थ्य सबलीकरण परियोजनाको सामाजिक लेखापरीक्षण (Social Audit) सम्पन्न भएको छ ।
मार्च २०२३ देखि जापान सरकारको सहयोग तथा ENDUREC बाँके र ADRA नेपालको साझेदारीमा सञ्चालित साे परियाेजनाकाे सामाजिक लेखापरीक्षण भएकाे हाे ।

सामाजिक लेखापरीक्षण परियोजनाको पारदर्शिता, जवाफदेहित्ता र सामाजिक प्रभावबारे मूल्याङ्कन गर्ने उद्देश्यले गरिएकाे कुरा ADRA नेपालकी परियोजना संयोजक शिवानी भट्टराई जानकारी गराईन ।

संयोजक भट्टराईले परियोजनाबाट समुदायमा परेको प्रभाव, स्रोतको सही प्रयोग तथा भविष्यमा सुधारका क्षेत्र पहिचान गर्न समेत सामाजिक लेखापरीक्षण आवश्यक रहेकाे बताईन ।

परियोजनाका उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धी सुझावहरू संकलन लेखापरीक्षक प्रकाश उपाध्यायले गरेका थिए । जिल्लाका विभिन्न स्थानीय तहका वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा आयोजना गरिएको कार्यक्रममा सेवाग्राही, स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले परियोजनाका उपलब्धि, देखिएका समस्या र सुधारका उपायबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

परियोजनाअन्तर्गत मातृ स्वास्थ्य समूहहरूले नियमित मासिक बैठक, अनुभव आदान–प्रदान तथा समुदायस्तरमा समस्या समाधानको पहल गर्दै आएको सहभागीहरूले बताए । यसले बालबालिकाको नियमित वृद्धि मापन, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा सुधार ल्याएको उनीहरूको भनाइ छ । साथै स्वास्थ्य संस्थाहरूमा पोषण कर्नर स्थापना गरिएको र आवश्यक औषधि तथा उपकरण उपलब्ध गराइएको जानकारी दिएका थिए ।

परियोजना मार्फत आठवटै पालिकाका आठ स्वास्थ्य संस्थालाई पोषणमैत्री बनाउन निरन्तर अभ्यास भइरहेको मातृ स्वास्थ्य समूहहरूले बताएका थिए । उनीहरूले आफ्नाे समूहहरू सक्रिय भई समुदायमा पोषण र स्वास्थ्यसम्बन्धी सचेतना फैलाइरहेका जानकारी गराउँदै परियोजनाले कुपोषित बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले मातृ स्वास्थ्य समूहको क्षमता अभिवृद्धि, स्वास्थ्य संस्थाको पोषणमैत्री स्तर दीर्घकालसम्म कायम राख्न तथा परियोजनाका उपलब्धिहरू संस्थागत गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । परियोजना अवधि सकिएपछि पनि स्थानीय सरकारले सफल अभ्यासहरूलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *