बर्दिया, पुष ३ गते
बर्दियाको बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट तीन हप्ता मै दुई जनाको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । लगातार मानवीय क्षति हुँदा पनि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको भन्दै स्थानीयले प्रशासन विरुद्ध प्रदर्शन समेत गरेका छन् ।
बुधबार बारबर्दिया नगरपालिका–१० कपास फारम बेलघारी निवासी ३१ वर्षीय दिनेश थारुको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको हो । घटनापछि बिहीबार दिउँसो स्थानीयवासीले प्रशासन घेराउ गर्दै समस्याग्रस्त बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले “प्रशासन मौन बस्न पाउँदैन”, “जनताको ज्यानको सुरक्षा गर” जस्ता नाराबाजी गरेका थिए ।
स्थानीयका अनुसार लामो समयदेखि चितुवा बाघ बस्ती आसपास घुमिरहे पनि सम्बन्धित निकायले गम्भीरता नदेखाउँदा यस्ताे दुःखद घटना दोहोरिन पुगेका हुन् । बारबर्दिया नगरपालिका–१० बेलघारीका बड्घर लाल बहादुर थारूले बाघको त्रासका कारण सामान्य जनजीवन प्रभावित भएको बताए ।
उनी भन्छन्,“मानिसहरू बिहान–साँझ घरबाट बाहिर निस्कन डराइरहेका छन् । “खेतबारी जाने, घाँस–दाउरा गर्न जाने अवस्था छैन । यति हुँदा समेत सम्बन्धित निकायहरू मौन बसेका छन् ।”
यसअघि पनि गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएकाे समयमा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीया गोपी थारुको मृत्यु भएको थियो । तीन हप्तामै दोस्रोपटक ज्यान गएको घटनाले स्थानीयमा आक्रोश र असुरक्षा थप बढाएको छ ।
त्यस्तै, मंसिर १६ गते बारबर्दिया नगरपालिका–४ मा घर नजिकै राखिएको पराल लिन गएकी १८ वर्षीया अजिता थारु परालमा लुकेको चितुवाको आक्रमणबाट घाइते भएकी थिइन् । लगातार आक्रमणका घटनाले चितुवा र बाघ मानव बस्तीमा नै सक्रिय भएको स्थानीयको दाबी छ ।
स्थानीयवासीले वन कार्यालय, प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी चितुवा बाघको निगरानी, नियन्त्रण तथा स्थानान्तरण तत्काल गर्न माग गरेका छन् । साथै जोखिमयुक्त क्षेत्रमा गस्ती बढाउन र दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीयको प्रदर्शन पछि प्रशासनले आवश्यक पहल गर्ने आश्वासन दिएको भए पनि ठोस कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने कुरा स्थानीयले बताएका छन् ।
