पौष, २६ गते

पौष २७ गते मनाइने पृथ्वी जयन्ती नेपालका लागि गाैरबमय इतिहास सम्झिने दिन हो । जहाँ हामीले पृथ्वीनारायण शाहकाे योगदान, दिव्य उपदेश सम्झदै वर्तमान र भविष्यको बाटो पनि मूल्याङ्कन गर्छौं । तर वर्तमान परिवेश हेर्दा, भदौ २३/२४ गते देखिएको जेनजी आन्दोलन, त्यसपछि तीव्र बनेको चुनावी दौड र राजाको बहस फेरि सतहमा आउँदा पृथ्वी जयन्तीलाई झन् अर्थपूर्ण बनाईदिएकाे छ ।

भदौको जेनजी आन्दोलन युवाको आवेग मात्र थिएन । त्यो आन्दोलनले राज्यप्रतिको बढ्दो अविश्वास, बेरोजगारी, महँगी, भ्रष्टाचार र भविष्यप्रतिको अनिश्चितताको आवाज बोकेको थियो । तर त्यो आवाज सुन्नुपर्ने राज्य संयन्त्र र राजनीतिक नेतृत्व भने त्यसलाई गम्भीर चेतावनीका रूपमा लिन असफल देखियो । आन्दोलन सकिए लगत्तै राजनीति फेरि सत्ता समीकरण र चुनावी तयारीमै सीमित बन्यो ।

आजको देशको अवस्था चिन्ताजनक छ । यस्तो अवस्थामा जनताको धैर्य खस्किँदै जानु स्वाभाविक हो । यही निराशाको जगमा राजाको विकल्पमाथिको बहस फेरि उठ्न थालेको छ ।राजाको बहस भावनात्मक नारा र राजनीतिक असफलताबाट जन्मिएको प्रश्न हो । दलगत स्वार्थभन्दा माथि उभिने, राष्ट्रिय एकता र दीर्घकालीन स्थिरता दिने कुनै संरचनाको खोज नै यो बहसको मूल कारण हो । पृथ्वीनारायण शाहले अघि सारेको एकीकृत राष्ट्र, स्वाधीनता र सन्तुलित शासनको सोच आज पनि धेरैका लागि सान्दर्भिक छ ।

आक्राेशकाे आगाेले तातिएकाे माहाेल देख्दा राजसंस्थाको पुनःस्थापना सम्भावनाको विषय बन्न सक्छ । यदि राजा संवैधानिक सीमाभित्र रहँदै, जनउत्तरदायी र निष्पक्ष भूमिकामा अघि बढ्न सके, देश वर्तमान संकटबाट निकासतर्फ मोडिन सक्ने सम्भावना पनि अस्वीकार गर्न सकिँदैन । किनकी जनताले खोजेको उत्तरदायी शासन र स्पष्ट राष्ट्रिय दिशा हो ।

अब प्रश्न सम्भावित परिणाम तर्फ उभिएको छ । यदि राज्यले जेनजीको चेतावनी, बढ्दो असन्तोष र राजाको बहसलाई बेवास्ता गर्‍यो भने सामाजिक तनाव झनै गहिरिन सक्छ । तर यदि यसलाई समयमै आत्मसमीक्षाको अवसर मानेर गम्भीर सुधार, राष्ट्रिय संवाद र दीर्घकालीन सोचतर्फ अघि बढियो भने यो संकट नै परिवर्तनको अवसर बन्न सक्छ ।

पृथ्वी जयन्तीले आज सोधिरहेको राष्ट्रिय प्रश्न यही हो—के हामी व्यक्ति र सत्ताको रक्षा गर्न व्यस्त रहने हो, कि राष्ट्रको भविष्य सुरक्षित गर्ने साहस देखाउने हो ? इतिहास सम्झने मात्र होइन, इतिहासबाट सिक्ने आँट गर्न सक्यौँ भने मात्र नेपालले स्थिरता र निकासतर्फको बाटो फेला पार्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *